जनताले अभिभावक खोजिरहेको छ : प्रधानमन्त्री ओली



दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको दाबी गरेका छन् ।
दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दै उनले कोभिड-१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर अनुकूलतामा बदलेर अघि बढेको बताए।

‘देश अगाडि बढ्छ । देश अगाडि बढ्न बाट कसैले रोक्न सक्दैनँ’, उनले भने’, ‘हामी संविधानको रक्षा गछौँ । प्रणालीको रक्षा गर्छौं । व्यवस्थाको रक्षा गर्छौं ।’ यस्तै प्रधानमन्त्री ओलीले कोभिड–१९ को खोप पर्सी बुधबारबाट लगाउन सुरु गरिने बताए । १८ गते सम्म पहिलो चरणको खोप लगाइ सकिने जनाए ।

यसैगरी नेकपा दाङ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी सरकार चाहिएको पनि उल्लेख गरे । जनताले असली अर्थमा अभिभावक खोजिरहेको उनको भनाइ छ ।

पार्टीभित्र समस्या उत्पन्न गराएर जनताको त्यो चाहना पूरा हुन नदिने प्रयत्न भइरहेको उनले बताए ।
‘दाङको घोराहीलाई औद्योगिक क्षेत्र बनाउने हिजै मात्र निर्णय गरेका छौँ । भालुबाङ भालुबाङका रूपमा होइन, आधुनिक राजधानीका रूपमा विकास हुनेछ । आधुनिक रङ्गाशाला, सुविधा–सम्पन्न हलहरू बन्नेछन्,’ प्रधामनन्त्रीले भने ।

उनले सबै नेपालीहरूले संकल्प गरे आफ्नो ठाउँमा आधुनिक, विकाससहितको बनाउन सकिने बताए ।

पुल उद्घाटन
यसैबीच प्रधानमन्त्री ओलीले देउखुरीको राप्ती नदिमा बनेको नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरेका छन् ।

राप्ती गाउँपालिकाको सिसहनियाँ गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका थिए ।

चार वर्ष अघि सुरु भएको पुलको निर्माण कार्य झण्डै एक वर्ष अघि सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।
यो पुलको लम्बाइ ८६५।४० मिटर र चौडाइ साढे १० मिटर छ । करिब ९४ करोड रुपैयाँ लागतमा पक्कि पुल तयार भएको हो ।

प्रकाशित : १२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्