बामदेव गौतमले आज नेकपा एकता अभियान घोषणा गर्दै



काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज (बुधबार) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन् । पार्टीभित्रको आन्तरिक कलह बढ्दै गएर फुटसम्म पुगेपछि गौतम कुनै समूहमा नलागी एकताको पक्षमा उभिएका हुन् ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको र चाहनालाई सम्बोधन गर्न आफूहरुले उपाध्यक्ष गौतमको नेतृत्वमा पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए ।

‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ ।’ सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बामदेव ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका समाचारको पनि गौतमको सचिवालयले खण्डन गरेको छ । विज्ञप्तिमा राष्ट्रिय समाचार समितिले गलत समाचार लेखेर विभिन्न सन्चार माध्यमलाई उपलब्ध गराएको उल्लेख छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमसँगै सत्तारुढ नेकपा दुई चिरा भएको छ । गौतमले भने आफ्नो पक्षधरता नदेखाई एकताको पक्षमा देखिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्