प्रदेश २ मा कोरोनविरूद्धको पहिलो खोप महिला स्वास्थ्यकर्मीलाई



पर्सा : वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई खोप लगाएर कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको छ ।

प्रदेश २ मा आईसियू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई पहिलो खोप दिएर अभियानको शुरुवात गरिएको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा नारायणी अस्पतालमा आयोजित एक कार्यक्रमबीच थापालाई खोप लगाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सञ्जय ठाकुरले बताए ।

अस्पतालले बुधवार पहिलो दिन एक सयभन्दा बढीलाई खोप लगाउने जनाएको छ । जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई पहिलो चरणको खोप लगाउने कार्यक्रम राखिएको छ ।

दोस्रो चरणमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइने योजना रहेको डा.ठाकुरले बताए । सरकारले जनस्वास्थ्य कार्यालय पर्सालाई पहिलो चरणको खोप कार्यक्रमका लागि ५ हजार जनालाई पुग्ने खोप उप्ल्बब्ध गराएको डा.ठाकुरले बताएका छन् ।

जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार जनस्वास्थ्यसँग भएको खोप अन्य अस्पताल र निजी स्वास्थ्य संस्थालाई पनि उपलब्ध गराइने भएको छ । वीरगञ्जमा खोप कार्यक्रमको उदघाटन भएसँगै प्रदेश २ का अन्य जिल्लामा पनि खोप लगाउँन शुरु गरिएको छ ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्