संघीयताको विपक्षमा संशोधन दर्ता गर्छौः चित्रबहादुर केसी



 काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।

 

नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयमनै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संसोधन प्रस्ताव हाल्न लागेको बताए ।

 

संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता बिरोधी नभइ नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए ।

 

कांग्रेस एमालेले समेत संघीयता नचाएको तर बाध्यतामा परेर संघीयता स्वीकारेको भन्दै उनले संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभइ कसैले बोकाइदिएको एजेण्डा भएको समेत उनको भनाइ छ ।

 

साथै उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावी गर्दै नेपालमा संघीयता भनेको ‘खर्च न पर्च, काँसी जानुपर्छ’ भने जस्तै भएको बताए । ‘संघीयता अहिले ठूला दलहरुलाई पनि संघीयता नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा वाउको अनुहार भने जस्तै गलपासो भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्