प्रदेश २ मा कानून मन्त्रीले लिए पहिलो खोप



जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् ।

प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना विरुद्धको खोप दिने अभियान सुरु भएको हो ।

बुधबार प्रादेशिक अस्पतालमा मन्त्री ज्ञानेन्द्रकुमार यादवले खोप लगाएसँगै यहाँ अभियानको सुरु भएको हो । मन्त्री यादव कोरोना भाइरसको संक्रमण मुक्त भएका व्यक्ति हुन् ।

कानून मन्त्री यादवपछि प्रदेशिक अस्पतालकी नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले कोरोना विरुद्धको खोप लगाए । स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु भएको हो ।

भ्याक्सिन लिएपछि मन्त्री यादवले खोप लिनुपूर्व र लिएपछि शरीरमा कुनै किसिमको फरक नपरेको बताए । मन्त्री यादवले खुल्ला सीमा, जनघनत्व बढी रहेकोले उच्च जोखिममा रहेको यस प्रदेशमा कोरोना भाइरसको रोकथाममा स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, संचारकर्मी सबैको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रत्येक जिल्लाबाट पनि खोप दिइने व्यवस्था मिलाउने कार्यभइरहेको र यस प्रदेशको ११ स्थानबाट खोप दिइने व्यवस्था गरिने मन्त्री यादवले बताए ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्