सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लामा कोरोना खोप अभियान शुरु



कैलाली : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि आज खोपको अभियान उदघाटन गरिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड-१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान शुरु गरिएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी अभियान शुरु गरेका हुन् ।

अभियान अन्तर्गत पहिलो खोप सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले लगाए । नेपाल सरकारले छोटो समयमा खोप उपलब्ध गराएर आफूले पहिलो खोप लगाउने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे ।

‘सुई हो, छालामा घोच्दा दुख्छ नै’ उनले भने, ‘क्षणिक दुखाई महसुस भए पनि कोभिड–१९ बाट बच्न खोप अनिवार्य भएकाले नडराइकन लगाउन म सबैमा अपिल गर्दछु ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन महेश भट्टले पनि बुधबार नै कोभिड १९ विरुद्धको खोप लगाए । ‘कोभिड १९ का कारण सधैँ असुरक्षित भइरहेको महसुस हुन्थ्यो’ उनले भने, ‘आज खोप लगाउने अवसर पाउँदा सुरक्षित महसुस भएको छ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सवारी चालक कृष्णबहादुर विष्टले पनि खोप लगाउने अवसर पाउँदा निकै खुशी लागेको बताए । उनले अब कोभिड-१९ बाट सुरक्षित भइने विश्वास जागेको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ९ ठाउँबाट एकसाथ कोभिड-१९ विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गर्ने भनिए पनि बाजुरा जिल्लामा भने खोप पुग्न ढिलाइ भएकाले बिहीबारबाट खोप अभियान मात्र सुरु हुने डा.गुणराज अवस्थीले जानकारी दिए ।

उनले प्रदेशमा ३६ हजार डोज खोप उपलब्ध भएको बताए । उनले सुदूरपश्चिमका ९ वटै जिल्लामा सरकारी स्वास्थ्यकर्मी, निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ कर्मचारी गरी १६ हजार ३ सय ३८ जनालाई खोप लगाइने बताए ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्