आज २८३ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा २८३ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ४ हजार ३ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५७ हजार ६९ पुगेको छ । आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।

हाल १ सय २२ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा २ सय ४६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर हाल १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेका छन् । १ सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ४ जना संक्रमित मात्र आइसियुमा छन् ।

प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा ४१ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सूदुरपश्चिम प्रदेशमा पनि कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्