अख्तियारको छापापछि यातायात कार्यालय जनकपुरको परीक्षा स्थगित



जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले मंगलबार साँझदेखि रातिको करीब साढे १० बजेसम्म छापामारेको थियो । यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षा कार्यव्यस्तताको कारण अनिश्चितकालको लागि स्थगित गरेको जानकारी दिएका छन् ।

सवारी चालक परिचयपत्र वापत उठाएको घुसको ठूलो रकम कार्यालयभित्रै रहेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको थियो । सो अवधिमा अख्तियारको टोली कार्यालयका निमित्त प्रमुखसहित दुईजना करारका कर्मचारी, एकजना कार्यालय सहयोगी र दुईजना विचौलियालाई कार्यालयभित्रै थुनेर राखेको थियो ।

अख्तियारको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय रुपैयाँ र बिचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयासहित नियन्त्रणमा लिएको थियो ।

प्रकाशितः १४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्