सरकारलाई काम गर्न नदिनेहरूसँग जुध्नु आजको आवश्यकता हो : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनजाती विरोधी नभएको बताएका छन् । कुनै बेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै यथार्थमा आफू विरोधी नभएको बताएका हुन् ।

आदिवासी जनजाति महासंघको आयोजनामा राष्ट्रिय सभागृहमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको बताए । उनले भने,‘आज देखा परेको यो दोबाटो भनेको जनताको अभिमतलाई मान्ने कि नमान्ने भन्ने नै हो, संसद विघटनलाई अदालतले पुनः स्थापना गरेन भने, भन्दै एकाथरी न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन् तर, हामी कुनै प्रकारले अलमल्लिनु हुँदैन ।’

‘तपाईंहरू माझ कुनै बेला केपी ओली जनजाति विरोधी हो भनेर भनेका थिए, त्यो तपाईंहरूलाई पनि लागेको थियो होला तर, त्यो गलत हो, नेपाल १२७ जातजातिको साझा फूलबारी हो, हाम्रो नेपाल देश यही विविध जातजातिका कारण विशिष्ट छ, सरकार यसको विरोधी छैन,’उनले भने । जनजातिको उत्थानका विषयमा विभिन्न योजनाहरू सरकारले ल्याउँदै गरेको बताउँदै ओलीले भने,‘सरकारलाई काम गर्न नदिनेहरूसँग जुध्नु आजको आवश्यकता हो ।’

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्