होटल मजदुरको नयाँ पारिश्रमिक तय



काठमाडौं : कोरोना भाइरस महामारीले थलिएको पर्यटन क्षेत्रमा कार्यरत मजदुरले काममा फर्किन नपाएको अवस्थामा पनि न्यूनतम पारिश्रमिक पाउने भएका छन् ।

यसअघि पाउँदै आएको रकम पूनरावलोकन गर्दै मजदुरका लागि नयाँ पारिश्रमिक निर्धारण गरिएको हो । होटल संघ र मजदुरबीच नयाँ पारिश्रमिकबारे सहमति पनि भएको छ ।

होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशिल केन्द्रीय ट्रेड यूनियन तथा संघ संगठनबीच मंगलबार पोखरामा भएको सहमति अनुसार अब पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक पाँचहजार रुपैयाँ पाउनेछन् । चारतारे होटल तथा रिसोर्टमा कार्यरतले मासिक चारहजार, तीनतारे होटल तथा रिसोर्टमा काम गर्नेले मासिक तीनहजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

त्यस्तै दुइतारे होटल तथा रिसोर्टमा कार्यरतले मासिक २५ सय रुपैयाँ पाउनेछन् । एकतारे होटल तथा रिसोर्टमा कार्यरतले मासिक २ हजार र पर्यटकस्तरीय होटलमा कार्यरतले आपसी सहमतिका आधारमा पारिश्रमिक पाउनेछन् ।

सहमतिअनुसार कुनैपनि प्रतिष्ठानले काममा नफर्केका मजदुरलाई कामबाट निकाल्न पाउनेछैन । घरमै बसेको अवस्थामा पनि यो रकम पाउनेछन् । यसअघि गत २८ गतेको सहमति पुस १६ गतेदेखि सकिएकोले मंगलबार नयाँ सम्झौता भएको हो । नयाँ सम्झौता अनुसार मजदुरले २०२१ को डिसेम्बर ३१ सम्म नियमित पारिश्रमिक पाउनेछन् ।

नयाँ सम्झौता अनुसार होटल संचालनका लागि आलोपालो प्रणालि अनुसार आवश्यकताको आधारमा श्रमिक काममा फर्किनेछन् । काममा फर्किएका मजदुरले खाइपाइ आएको पारिश्रमिक पाउनेछन् । तर काममा नबोलाइएको खण्डमा मात्र यो सम्झौताको रकम मजदुरले पाउने छन् ।

नेपालमा होटल, रेस्टुरेन्ट र क्यासिनोमा मात्र कार्यरत मजदुरको संख्या करिब डेढलाख रहेको छ । ती मध्ये अहिले करिब २० प्रतिशत मजदुर काम काममा फर्केको अनुमान मजदुर संगठनको रहेको छ । पर्यटकस्तरीय ९० प्रतिशत होटल अझै बन्द रहेको पनि संगठनको अनुमान छ ।

प्रकाशित १४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्