फुट्दै नफुटेको पार्टी एकता गर्न बामदेवको एकता अभियान !



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले बुधबार (माघ १४ गते) नेकपालाई एकीकृत गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गरे । आफू एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका उपाध्यक्ष गौतमले बुधबार भने ललितपुरको धोबीघाटमा कार्यक्रम गरेर औपचारिक रूपमै एकता अभियान घोषणा गर्दै नेकपालाई एकता गराइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टी एकता गराइछाड्ने मात्र भनेका छैनन्, मिति नै तोकेर ६ महिनाभित्रै त्यो काम पूरा हुने समेत दाबी गरेका छन् । तर बामदेवको यो अभियानसँगै एउटा कानूनी प्रश्न खडा भएको छ । ‘फुट्दै नफुटेको पार्टी एकता गर्न एकता अभियान ?’

राजनीतिक र वैचारिक रुपमा नेकपा फुटेको देखिएपनि कानूनतः यो पार्टी अहिले पनि एउटै छ । केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्ष दुवैले आफूहरु आधिकारिक नेकपा भन्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदन खारेज भइसकेको छ । यसकारण नेकपा अहिले पनि कानूनी रुपमा फुटेको छैन ।

फुट्दै नफुटेको पार्टीलाई एकता गराइरहनुपर्ने आवश्यक्त अहिले नभएको राजनीतिक बिश्लेषकहरु बताउँछन् ।

निर्वाचन आयोगले नेकपाको फुट्लाई कानूनी मान्यता नदिएको र अहिले नेकपमा देखिएको वैचारिक भिन्नतालाई फुट भन्न नमिल्ने राजनीतिक विश्लेषक डा. राजेश अहिराज बताउँछन् । ‘निर्वाचन आयोगले नेकपा पार्टी फुटेको छैन भनेर भनिसक्यो ।’ द नेपाल टपसँग बिश्लेषक डा. अहिराजले भने, ‘वैचारिक भिन्नता त जहाँ पनि हुन्छ नि होइन र ! यसलाई विभाजन भनेर भन्ने मिलेन नि ।’

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका दलको उदाहरण दिँदै उनले वैचारिक भिन्नता जुनै पार्टीमा पनि हुने बताए । अहिले नेकपामा देखिएको एउटा राजनीतिक वा व्यवाहारिक कलह मात्र भएको बिश्लेषक अहिराजको भनाइ छ । हुन पनि पार्टीभित्र वैचारिक रुपमा एक हुन नसक्नु र गुट–उपगुट मौलाउनु त नेपालका राजनीतिक दलहरुको बिशेषता नै भएको छ ।

नेकपा नै फुटिनसकेकोले अहिले पार्टी एकता अभियान त्यत्ति महत्व र आश्यक्ता नरहेको डा. अहिराजको बिश्लेषण छ । वास्तवमा एकता आफैमा नराम्रो भने होइन, तर त्यो एकताको उद्देश्य के हो र कसको पक्षमा हो भन्ने कुरा प्रमुख हो । बिश्लेषक डा. अहिराज भन्छन्, ‘बामदेव गौतमको एकता के का लागि हो ? दलका लागि हो भने जनचासोको बिषयमा भएन । देश हितको लागि हो भने त्यस्तो खालको एजेण्डा देखिएन ।’

बामदेवको यो अभियान एउटा भ्रमको राजनीति जस्तो मात्र देखिएको बिश्लेषकहरु बताउँछन् । ‘यो एउटा भ्रमको राजनीति जस्तो लाग्छ मलाई । अथवा उहाँलाई अबको प्रधानमन्त्रीको तेस्रो उमेद्धार म हो भन्ने स्थापित गर्न पनि हुनसक्छ ।’ डा. अहिराजले भने ।

पार्टीलाई वैचारिक रुपमा पार्टी उपाध्यक्ष बामदेव गौतमलै विभाजन गराएको अर्का राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीको टिप्पणी छ । ‘हिजो पार्टीमा वैचारिक विभाजनको जग हाल्ने नै बामदेव हुन् । आज तीनै बामदेवले यो एकता अभियान थाल्नु हाँस्यास्पद छ ।’ केसीले भने ।

‘बामदेवले कसरी विभाजनको जग हाले’ भन्ने द नेपाल टपको प्रश्नमा विश्लेषक डा. केसीले भने, ‘बर्दियाबाट चुना हारेका उनलाई तुरुन्तै उपनिर्वाचन गराएर भएपनि निर्वाचित भएर माथि आउनुपर्‍यो । धाँधली गरेर, अन्र्तघात गरेर बर्दियामा हराइयो भनेर उनले रोल्पा, पाल्पा र काठमाडौं १० का कुरा पनि गरे । संविधान संशोधन गराएर भएपनि म प्रधानमन्त्री हुनुपर्छ भनेर लामो समय उहाँले बबण्डर गर्नुभयो ।’

संसदमा छिरेर जसरी पनि प्रधानमन्त्री बन्छु भन्ने बामदेवको जिद्दीका कारण नेकपा वैचारिक रुपमा विभाजन भएको बिश्लेषक केसीको भनाइ छ । ‘यता पनि बामदेव, उता पनि बामदेव, सचिवालय र स्थायी कमिटीमा बामदेव । कहिले बामदेव यता लागे भन्या छ कहिले उता लागे भन्या छ । यही बेलादेखि नेकपामा विभाज सुरु भएको हो ।’ बिश्लेषक केसीले भने ।

नेकपा एकता अभियान घोषणा गरेका बामदेवले भने पार्टी विभाजन गर्न अध्यक्षद्वय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताउँदै अब दुवैलाई आफूले सहमतिमा ल्याएर कानूनी रुपमा फुट्दै नफुटेको पार्टी एकता गराउने भन्दै लागेका छन् ।

शीर्ष तहका नेतामा आएको वैचारिक तिक्ताले नेकपा राजनीतिक रुपमा दुई चिरा हुँदा बामदेव भने तटस्थ रहँदै एकता अभियानतिर किन मोडिए त ? पार्टी, जनता र देशको भलाईका लागि कि व्यक्तिगत स्वार्थका लागि ? यसबारे यथार्थ कुरा समयक्रमसँगै खुल्दै जानै छ ।

प्रतिक्रिया दिनुहोस्