कोरोना संक्रमणबाट महिला स्वास्थ्यकर्मीको मृत्यु



नेपालगञ्ज : बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।

‘चार दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो, उपचारका क्रममा आज निधन भयो’, श्रेष्ठले भने, ‘उहाँ महामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिनुभएको थियो ।’ भारतीको एक/एक जना छोराछोरी छन् । नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्