लाखाैंकाे भ्रष्टाचार र पठनपाठन कमजाेर गर्ने प्रधानाध्यापक विरुद्व अभिभावक



जनकपुरधाम:  जनकपुरकाे देवपुरमा रहेकाे जनता माध्यमिक विद्यालयका विद्यार्थीका अभिभावकहरु ११ बुँदे मागसहित आन्दोलनमा उत्रेका छन् । जनकपुरधाम उपमहानगरपालिका- २० देवपुरास्थित जनता माविका विद्यार्थीका अभिभावकहरु पठनपाठन कमजाेरी गरेकाे भन्दै एकत्रित भई विद्यालयका प्रधानाध्यापक विरुद्ध उत्रेका हुन् ।

 

विद्यालयको वार्षिक आम्दानी २० लाख बढी भएपनि विद्यालयको अवस्था जीर्ण र पठनपाठन निक्कै कमजोर रहेको जस्ता असन्तुष्टिसहित उनीहरु विद्यालयकाे प्राङ्गणमा धर्नामा बसेकाे बताउँछन् ।

 

सातौं घण्टीसम्म पढाई समेत नहुने गरेको अभिभावक रामनाथ दासले गुनासो पोखे । उनले पाँच वर्षदेखि अभिभावकहरु पठनपाठनमा सुधार गर्नका लागि शिकायत गरेपनि आजभोली गर्दागर्दै त्यसमा सुधार नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

 

अभिभावक दासले विद्यालय निर्माणमा विद्यालयका प्रधानाध्यापक पवन कुमार लाल कर्णले अनियमितता समेत गरेको आरोप लगाएका छन् । त्यस्तै स्थानीय रामचन्द्र साहले भवन निर्माणमा प्रधानाध्यापक कर्णले लाखौंको भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले विद्यालय व्यवस्थापन समिति गठन हुन नदिनमा प्रधानाध्यापक कर्णकै हात रहेको बताएका छन् । 

 

त्यस्तै अंग्रेजी शिक्षक प्रभा मिश्रले विद्यार्थीहरुका लागि व्यवस्थापन राम्रो किसिमले हुन नसक्दा पठनपाठनमा निक्कै समस्या रहेको बताएका छन् । उनले लेख्ने बोर्डहरु समेत कोठाभित्र नहुँदा विद्यार्थीहरुको पढाउनमा समस्या परेको दोहोर्‍याएका छन् ।

 

त्यस्तै अर्का गणित तथा विज्ञानका शिक्षक रवीन्द्र दासले कक्षालाई राम्रो किसिमले व्यवस्थापन हुन नसक्दा विद्यार्थी तथा शिक्षक दुवैलार्इ समस्या भएको बताएका छन् । उनले प्रधानाध्यापकलाई पटक-पटक ताकेदा गर्दा पनि ध्यान नदिएपछि बाध्य भएर घण्टी छोड्नु परेको गुनासो पोखेका छन् ।

 

त्यस्तै अभिभावकहरुले विद्यालयमा सातौं घण्टी पढाई हुनुपर्ने, विद्यालय समयमा शिक्षकहरुको उपस्थिति हुनुपर्ने, दैनिक कम्प्यूटर कक्षा सञ्चालन हुनुपर्ने, छात्रा शौचालय अविलम्ब निर्माण गर्नुपर्ने, विद्यालयमा काटिएको विद्युत लाइन जोडाउनुपर्ने, लेखापालको नियुक्ति र तलव सम्ब्न्ध्मा छानबिन हुनुपर्ने रहेको छ ।

 

त्यस्तै निजी स्रोतको शिक्षक तथा कर्मचारीको नियुक्ति प्रक्रियाको छानबिन गरी विज्ञापनद्वारा शिक्षक नियुक्ती गर्नुपर्ने, विगत पाँच वर्षदेखि सामाजिक परीक्षण नगराएकोले सो लगायत हालसम्मको आयव्याय, बिल भर्पाईसहित सार्वजनिक गर्नुपर्ने, सडक निर्माणको क्रममा राज्यले उपलब्ध गराएको जग्गा मुआब्जा रकम के मा खर्चियो सार्वजनिक हुनुपर्ने,  छात्रवृति किन वितरण गरिएन कारण देखाउन उनीहरुले माग गरेका छन् ।

 

विद्यालयमा १८ वटा शिक्षक र ६ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । उनीहरुको सञ्चयकोष र तलबसमेत समयमा प्रधानाध्यापकले नदिने गरेको शिक्षक तथा कर्मचारीहरुले गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्