पिपिएल: पोखरा पल्टनले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्‍याे



पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टनले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। 

 

चितवनले दिएको १ सय ४१ रनको लक्ष्य पोखराले ‍१७.२ ओभरमा ५ विकेटको क्षतिमा पार गर्‍यो। 

 

योसँगै पोखराले दोस्रो जित हात पारेको छ। तीन खेल खेलको पोखराले पहिलो खेलमा विराटनगरलाई हराएको थियो। दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो। यता पारस खड्काको कप्तानीमा रहेको चितवन भने लगातार दोस्रो खेलमा पराजित भएको छ। यसअघि चितवनलाई धनगढीले ७० रनले पराजित गरेको थियो। 

 

पोखराका लागि रवि इन्दर सिंहले अर्धशतक प्रहार गरे। उनले ६५ रन प्रहार गरे। उत्कृष्ट लयमा रहेका सिंहले ४८ बलमा ८ चौका र ३ छक्का हिर्काए। कप्तान शरद भेषावकरले ३७ रनको योगदान गरे। शरदले २० बलमा ३-३ चौका र छक्का प्रहार गरे। 

 

त्यसअघि खराब ओपनिङ गरेको पोखराले पहिलो २ ओभरमा २ विकेट गुमाएको थियो। ओपनरद्वय कुशल भुर्तेल र मोहमद आसिफ शेख शून्य रनमा आउट भएका थिए। भुर्तेललाई दोस्रो बलमा करण केसीले तथा आसिफलाई दोस्रो ओभरको पाँचौ बलमा सनी पटेलले एलबीडब्लूको धरापमा परेका थिए। जसले गर्दा पोखरा पहिलो २ ओभरमा शून्य रनमा महत्वपूर्ण २ विकेट गुमाएको स्थिति थियो।

 

तर तेस्रो विकेटका लागि रवि इन्दर र रोहितकुमार पौडेलले ७८ रनको साझेदारी गरेपछि पोखरा सहज स्थितिमा पुगेको थियो। रोहितले २४ बलमा समान १-१ चौका र छक्काको मद्दतमा १९ रन जोडे। विनोद भण्डारी ४ रन र मेहबुब अलाम ७ रनमा नटआउट रहे। 

 

बलिङमा चितवनका करण केसीले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १ मेडन फ्याँक्दा १९ रन दिए। यस्तै शनि पटेल र शक्ति गौचनले १-१ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो। 

 

चितवनका लागि कप्तान पारस खड्काले ४४ रन जोडे। विक्रम भुषालको बलमा रोहितकुमार पौडेलबाट क्याच हुनुअघि पारसले ३२ बलमा ३-३ चौका र छक्का प्रहार गरे। यस्तै सनी पटेलले चितवनका लागि सर्वाधिक रन जोड्ने क्रममा नटआउट ४६ रन जोडे। उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। 

 

त्यसअघि ओपनिङमा आएका हरिशंकर साह १२ बलमा केवल ३ रन जोडेर आउट भए। अर्को ओपनर अनिलकुमार साहले १६ रनको योगदान गरे। उनले १८ बलमा १-१ चौका र छक्का प्रहार गरे। सोनु तामाङले २१ रनको योगदान दिए। उनले २७ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे। करण केसी भने शून्य रनमै आउट भएका थिए। 

बलिङमा पोखराका विक्रम भुषासलले २ विकेट लिए। उनले ३ ओभरमा ३३ रन खर्चिए। मेहबुब अलाम, मोहमद नाभिद र कप्तान शरद भेषवाकरले समान १-१ विकेट लिन सफल भए। 

प्रतिक्रिया दिनुहोस्