दाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू



दाङ : दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु तीन हजार ५०० बुझाएमा एक वर्षका लागि रु एक लाख बराबरको स्वास्थ्य बीमा हुने छ । रु एक लाख बराबरको उपचार परिवारमध्येका जुनसुकै बिरामी भए पनि पाउनेछन् ।

कार्यक्रमअन्तर्गत ६ देखि माथिको परिवार सदस्य भए प्रतिसदस्य रु ७०० बीमा शुल्क लाग्ने र रु दुई लाखसम्मको बीमा सरकारले गर्ने छ । स्वास्थ्य जोखिम न्यूनीकरण गर्दैै पैसाको अभावमा कोही पनि रोगी भएर बस्नु नपर्ने भन्दै सरकारले दाङमा माघ ३० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्यअनुसार सबै पालिकाका हरेक वडामा एकजना दर्ता सहयोगी छनोट गरी तथ्याङ्क सङ्कलन गरेर बीमामा सर्वसाधारणलाई आबद्ध गराउने काम शुरु हुने कार्यक्रम सहजकर्ता नरेश चौधरीले जानकारी दिए । जिल्लाका दशवटै नगर तथा गाउँ कार्यपालिका सदस्य, स्वास्थ्यका कर्मचारी र कार्यालयका शाखाप्रमुखहरुलाई स्वास्थ्य बीमा कार्यक्रमबारे अभिमुखीकरण गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्