नेपाली राजनीतिको बिर्सन नहुने नाम : महेन्द्रनारायण निधि



धेरैले नसुने पनि नेपालको राजनीतिक इतिहासले सधैं सम्झने नाम हो धनुषाको नगराइन गाउँ। देशमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान गरेका गान्धीवादी, जुझारु, निष्ठावान र प्रतिबद्ध कांग्रेस नेता महेन्द्रनारायण निधी यही गाउँमा जन्मेका थिए।

युवावस्थादेखि नै राणा र पञ्चायतविरुद्ध अथक संघर्ष गरेका उनी जीवनको अन्तिम घडीसम्म प्रजातन्त्र र राष्ट्रियताप्रति निष्ठावान रहे। मधेसमा जन्मेर मधेसलाई नै कर्मभूमि बनाएका उनको योगदानको तुलनामा उनको नाम अत्यन्त थोरै मात्र चर्चामा आयो। तर कामप्रति समर्पित उनले चर्चा हुनु नहुनुको कहिल्यै कुनै वास्ता गरेनन्। उनी जमिनदार परिवारका भए पनि उनी सबै नेपालीको सेवामा लागे।

उनले जीवनको सुरुवात राजनीतिबाट गरेका थिएनन्। अनौपचारिक शिक्षामात्र लिएका डिट्ठा गौरीनारायण गिरीको जानकी राइस मिलमा मुन्सीको नोकरी थालेका थिए। मिलको कामका सिलसिलामा उनी कहिले काठमाडौं त कहिले विराटनगर अनि कहिले पटना र कहिले सीतामढी पुग्नुपथ्र्याे।

मिलकै कामको क्रममा ००३ सालमा गरेको पटना यात्राले उनको जीवन यात्रालाई अर्कै मोड दियो। पटनामा उनको भेट नेपालबाट राणाशासन हटाउन संघर्षरत बिश्वेश्वरप्रसाद कोइरालासँग हुन पुग्यो। बिपीसँगको त्यही भेट नै निधीको आगामी यात्रा जानकी राइस मिलबाट बाहिर निस्केर नेपाल र नेपालीका लागि समर्पित हुने ‘राजनीतिक साइत’ बन्यो।

बिपीले त्यसै वर्ष माघमा कलकत्तामा हुने नेपाली राष्ट्रिय कांग्रेसको स्थापना दिवसमा भाग लिन निम्त्याए पनि, तर कार्य व्यस्तताका कारण  निधी सहभागी हुन सकेनन्।

त्यसपछि चैतमा विराटनगरको सीमावर्ती बजार जोगबनीमा भएको राष्ट्रिय कांग्रेसको विशेष बैठकमा उनलाई बोलाइएको थियो, जहाँ  उनले भारतका समाजवादी चिन्तक डा.राममनोहर लोहियासँग भेट गरेको पत्रकार किशोर नेपालले ‘नैतिक शक्तिका एक पुञ्ज’ शीर्षकको लेखमा उल्लेख गरेका छन्।

डा.लोहियाले निधीलाई सक्रिय राजनीतिमा प्रवेश गर्न हौस्याएका थिए। कांग्रेसको जोगबनी बैठकपछि सभापति मातृकाप्रसाद कोइरालाले निधीलाई केन्द्रीय समितिमा मनोनयन गरे। यसपछि मात्र उनी प्रजातान्त्रिक राजनीतिको मूलधारमा हेलिए।

००८ सालदेखि ०१० सालसम्म तत्कालीन महोत्तरी (हालको धनुषा, महोत्तरी र सर्लाही) जिल्लाको कांग्रेस सभापति भएर काम गरे निधीले। ०१० सालदेखि ५ वर्ष कांग्रेसको संसदीय सचिव भएर राजनीति गरेका निधी ०१५ सालको आम निर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४३ बाट प्रतिनिधिसभामा निर्वाचित भएर पहिलो संसदको पहिलो उपसभामुख चुनिएका थिए।

तर ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई ‘कू’ गरेपछि निधीले निर्वासनमा ३ वर्ष भारतमा बिताए। प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक पक्राउ परेका निधीले करिब १० वर्ष जेलमा काट्नु परेको थियो।

अहिंसाका पक्षधर निधीले ०१८ र ०३१ सालमा कांग्रेसले गरेको सशस्त्र संघर्षको खुलेरै विरोध गरेका थिए। ०४६ सालको जनआन्दोलनमा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रजातन्त्र पुनःस्थापनापश्चात् ०४७ साल वैशाख ६ गते गठित ११ सदस्यीय  अन्तरिम सरकारमा उनी कांग्रेसका तर्फबाट जलस्रोत र स्थानीय विकास मन्त्रालय सम्हालेका थिए। ०४८ सालमा निर्वाचित  सरकार गठनपछि उनी फेरि पार्टीको काममा सक्रिय भए।

प्रजातन्त्र पुनःस्थापनापछि पहिलो संसदीय निर्वाचनमा उनी आफ्नै गृहजिल्ला धनुषाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भए। ०५१ सालमा उनी नेपालको शक्तिशाली र प्रमुख पार्टी नेपाली कांग्रेसको महामन्त्री भए।

कांग्रेसमा वरिष्ठ पदाधिकारी नेताले चुनावमा प्रतिस्पर्धा नगर्ने सहमति भएअनुसार ०५१ सालको मध्यावधि निर्वाचनमा नै पालना गरी चुनावमा सहभागी भएनन् उनी। पार्टीगत सक्रिय राजनीतिबाट अलग भएका निधीले त्यसपछि समाज सेवा गर्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षका रूपमा काम गरे।

जनकपुरधाम क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक  सम्पदा  संरक्षण, संवद्र्धन तथा पर्यटकीय महत्व बढाउन ०५३ सालमा स्थापना गरिएको परिषद्को संस्थापक अध्यक्ष थिए निधी।

कांग्रेसमा रहेका अनेक गुट उपगुट कुनैमा पनि उनी लागेनन्। कृष्णप्रसाद भट्टराईको निर्णयमा चित्त नबुझे असहमति जनाउने, गिरिजाप्रसाद कोइरालाको कटु आलोचना गर्ने स्पष्टवक्ता निधी कुनै गुट वा खेमामा नलागेकै कारण पनि उनलाई कांग्रेसमा गणेशमान सिंहजस्तै ‘सर्वमान्य’ नेताका रूपमा हेर्ने गरिन्थ्यो।

 

प्रधानमन्त्री बन्न पाएनन्

०४७ सालको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत जितेर सरकार गठन गरे पनि कृष्णप्रसाद भट्टराई पराजित भए। गणेशमान सिंहले चुनाव मैदानमा उत्रेनन्। त्यसैले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। त्यतिबेला गणेशमान सिंहले निधीलाई प्रधानमन्त्री बनाउन प्रयास गरेका थिए। सिंहले प्रधानमन्त्रीमा निधीलाई प्रस्ताव गर्दा उपत्यकाका जिल्ला सभापतिलगायत कतिपय कांग्रेस नेताले अस्वीकार गरेका थिए।

त्यसको परिणाम कोइराला–सिंहबीच द्वन्द्व चर्कियो। तैपनि भट्टराई र निधिले सिंह–कोइराला सुलह गराउने प्रयास गरे पनि द्वन्द्व जारी रह्यो। अन्ततः सिंहले पार्टी नै परित्याग गरेको छोड्नु ‘द एक्सक्लुसिभ’ साप्ताहिकले उल्लेख गरेको छ।

पार्टीमा विग्रह बढ्दै जाँदा मध्यावधि चुनाव घोषणा भयो। निधीले भने उम्मेदवार दिएनन्। त्यसपछि राजनीतिबाट पूर्णतया अलग्गिएका उनको देहान्त तेस्रो आम निर्वाचनताका भएको थियो।

७६ वर्षको उमेरमा ०५६ साल वैशाख २१ गते हृदयघातका कारण उनको निधन भयो। उनी नीति र सिद्धान्तप्रति सदैव निष्ठावान रहेको जेठा छोरा नवेन्द्र निधी सम्झन्छन्।

निधीको ९७ औं जन्मजयन्तीमा फागुन १३ गते महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले  निधी विचारअनुसारको व्यवहार अनि वचनअनुसारको कर्मका एउटा विशिष्ट प्रतिबिम्बका उदाहरण भन्दै प्रशंसा गरिन्।

 स्वर्गीय निधिबाट अहिलेका राजनीतिक पुस्ताले समेत सिक्नु आवश्यक रहेको राष्ट्रपतिले बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्