रौतहटमा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान



रौतहट  : रौतहटको राष्ट्रिय वनभित्र सालको रुख काटेर चिरान गरी तस्करी गर्ने क्रममा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ ।

 

जिल्लाको धन्सर इलाका वन कार्यालय अन्तर्गत भोलनटार नजिकै बनगस्ती टोलीले बनभित्र ठूलो परिमाणमा चिरान तथा गोलिया बरामद गरेपछि उक्त रहस्य खुलेको हो ।

 

 वनभित्रै काठ चिरान गरीरहेको अवस्थामा वन सुरक्षाकर्मीले दुईजना कामदारलाई नियन्त्रणमा लिएको छ ।

 

काठ चिरान गरिरहेकै अवस्थामा र पक्राउ पर्नेहरुमा चन्द्रपुर नगरपालिका ३ का चन्द्र बहादुर मोक्तान र लाल बहादुर जिम्वा रहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिए । 

गस्ती टोलीले ४२ थान ६६ क्युविफिट चिरान काठ र २ थान  ६७ क्यविफिट गोलिया काठ गरी कुल १ सय ३३ क्युवफिट काठ बरामद भएको प्रमुख सिंहले जानकारी दिए । 

 

काठ तस्करी हुँदै गरेको  सूचनाको आधारमा गएको गस्ती टोलीलाई तस्कर समूहले दुई राउण्ड गोली फायर गरेको सिंहले बताए ।

 

सो क्रममा वन गस्तीटोलीले जवाफी फायरिङ गरेको जिल्ला वन अधिकृत सिंहले बताए । फायर गर्दै तस्करको समूह भागेपनि दुई कामदारलाई भने नियन्त्रणमा लिन सफल भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्