‘जनतालाई वर्जित गरेर आफू सुविधाभोगी बन्नु घोर अनैतिक र आलोचनीय’



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण नागरिकलाई बुधबार निक्कै सास्ती भयो । सास्तीसँगै दुःख र संघर्ष गरेर आर्जेको आफ्नो सवारी साधान जल्दा र तोडफोड हुँदा कत्तिले त लाखौंको क्षति पनि व्यहोर्नुपर्‍यो । अब त्यसको क्षतिपूर्ति ‘पाउने कि नपाउने ? दिए कसले दिने र कहिले दिने ?’ यो प्रश्नको जवाफ मिल्न कठिन छ, कमसेकम हाम्रो नेपालमा ।

आमहड्तालको नाममा आगजनी र तोडफोडसँगै ठाउँ–ठाउँमा झडप पनि भयो, प्रहरी र बन्दकर्ताबीच तनावको स्थिति सिर्जना हुँदा कत्तिले त झण्डै ज्यानै गुमाउनुपर्‍यो । आमहड्तालमा सरकारी तथा निजी कार्यालय, होटल तथा पसल र सवारीसाधन आवागमनमा अवरोध गर्ने/गराउने निर्देशन आमहड्तालको घोषणा गर्ने पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नै दिएका थिए ।

तर, आमहड्तालको घोषणा गर्ने पार्टीकै दुई अध्यक्ष भने अरूलाई सवारीसाधन चलाउन प्रतिबन्ध लगाएर आफू गाडी चढेर आमहड्तालको अनुगमन गर्न र सहभागिता जनाउन पुगे, त्यसपछि यसको सर्वत्र आलोचना र अनेकखाले टिक्काटिप्पणी भइहरेका छन् ।

प्रचण्ड गाडी चढेरै खुमलटारबाट सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोक गएर खुमलटार फर्केका थिए भने अर्का अध्यक्ष नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गर्न पुगेका थिए । प्रचण्ड बा १७ च ३०७१ नम्बरको प्राडो चढेर सुरक्षाकर्मीसहित नाराबाजी गर्न पुगेका थिए । अर्का अध्यक्ष नेपाल कार्यकर्ताले हाँकेको बा ५२ प ५८१४ स्कुटर चढेर कोटेश्वर चोक पुगेका थिए ।

लामो दूरी हिँडेर छिचोल्न सम्भव नहुने भएकाले सवारीसाधन प्रयोग गर्नु परेको अध्यक्षद्वयको सचिवालयले जनाएको छ । तर, ‘त्यसरी लामो दूरी हिँडेर पार गर्न आफूलाई कठिन पर्नेले सर्वसाधारणले चाँही कसरी यात्रा गर्लान भन्नेबारे सोच्नु पर्दैन ?’ नागरिकको प्रश्न यो हो ।

अरूलाई गाडी चलाउन नदिएर आफू चाहिँ गाडी चढ्न मिल्छ भन्दै सर्वसाधारण, राजनीतिक विश्लेषक र नागरिक आगुवाहरुले आलोचना गरेका छन् । प्रधानमन्त्री केपी ओलीले त जनतालाई दुख दिएर आफूहरु गाडीमा सयर गर्दै तमासा हेर्न पुगेको भन्दै प्रचण्ड र माधव नेपालमाथि कटाक्ष नै गरेका छन् ।

‘अरुका गाडी जलाउनुभो । अनि जनताले कति दुःख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’ किसान महासंघको कार्यक्रममा ओलीले भने, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडी बस्नुभयो ।’

यता, राजनीतिक विश्लेषकले पनि प्रचण्ड र माधवको शैली गलत भएको टिप्पणी गरेका छन् । आफैले बन्दको आयोजना गरेर जनताको गाडी चल्न नदिने तर आफू भने गाडी चढेर हिँड्नु घोर अनैतिक काम भएको राजनीतिक विश्लेषक डा. राजेश अहिराजको भनाइ छ ।

‘पहिलो कुरा त यसरी जनताको दैनिकीमा प्रत्यक्ष असर पुग्ने खालका बन्द–हड्ताल नै गर्न नहुने हो । अझ त्यसमाथि जनतलाई सवारी चलाउन नदिने अनि आफू भने खुलमखुला गाडीमा हिँड्नु त घोर अनैतिक काम हो ।’ विश्लेषक अहिराजले भनेका छन् ।

बुधबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधनबाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः थिए । प्रतिनिधिसभा विघटनसँगै काम चलाउ बनेको सरकारले संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक आयोगमहरुमा पदाधिकारी नियुक्त गरेपछि आक्रोशित प्रचण्ड–माधव नेकपाको घाउमा नुन–चुक छर्किएको छ ।

तर, आफैले बन्दको घोषणा गरेर आफू भने खुलमखुला गाडी चढेर हिँडेपछि अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल जनस्तरबाट अझ बढी आलोचनाको पात्र बनेका छन् । कतिपयले त प्रचण्ड–माधव नेकपामाथिको सकारात्मक दृष्टिकोण नै बद्लिएको धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

बन्द–हड्ताल, त्यसमाथि आगजनी र तोडफोड जस्ता कार्य गर्नु र गराउनु बिलकुल निन्दनीय छ, कमसेकम जनताको लागि । त्यसमाथि जनतालाई सुविधा लिनबाट वर्जित गरेर आफैले त्यसको उल्लघंन गर्दै आफू सुविधाभोगी बन्नु त घोर अनैतिक र आलोचनीय नै हो ।

प्रतिक्रिया दिनुहोस्