छठघाटको विवादले गढीमाईमा कुटाकुट, ११ जना घाइते



कलैया : नजिकिँदै गरेको छठ पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा यहाँको महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलबासी झडप भएको हो । 

 

झडपमा मथुवा टोलका आठ र कचहरीया टोलका तीनजना घाइते भएका छन् । घाइतेमध्ये मथुवा टोलका मोतीलाल कुशवाहा, राजन कुशवाहा र मुकेश कुशवाहाको अवस्था गम्भीर  छ । झडपमा घाइते भएका मोतीलाल गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव हुन् । 

 

छठ पूजाका लागि दुवै टोलका स्थानीयले एकै जग्गामा छठघाट बनाउने तयारी गरेपछि विवाद सुरु भएको थियो । उक्त जग्गामा आफूले छठघाट बनाउन पाउनुपर्ने दुवै टोलले दाबी गर्न थालेपछि छलफल डाकिएको थियो । 

 

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको सचिव कुशवाहाको पहलमा भइरहेको छलफलमै दुवै पक्षबीच झडप भएको हो । झडप भएपछि बरियारपुरमा रहेको प्रहरी चौकी र सशस्त्र बेस क्याम्पका प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए । दुवै पक्ष आक्रामक हुँदै एकअर्कामा जाई लागेपछि जिल्ला प्रहरी कार्यालयबाटसमेत टोली घटनास्थल पुगेको थियो । 

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जीतसिंह राठौरले जग्गाको बिषयलाई लिएर स्थानीयबीच विवाद हुँदा भएको झडपलाई केही समयमै नियन्त्रणमा लिएको बताए । उनले झडपमा सामान्य घाइतेको कलैयामा उपचार गराइएको र गम्भीर घाइतेलाई थप उपचारका लागि वीरगन्ज पठाएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्