कोसी र बक्राहाको बाढी नियन्त्रण गर्न छुट्टै आयोजना



काठमाडाैं : कोसी र बक्राहा नदीको बाढी समस्या समाधानका लागि अलग्गै आयोजना सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका–१ भट्टाचौकमा कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना स्थापना गरिएको छ । कार्यालयमा तीन इन्जिनियर, तीन सबइन्जिनियरसहित १३ कर्मचारी छन् । बाढी नियन्त्रण गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्च गर्दै आए पनि समस्या समाधान नभएपछि दिगो समाधानका लागि आयोजना सञ्चालनमा ल्याएको प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए ।

 

तिवारीका अनुसार आयोजनाले कोसी समस्याबारे विस्तृत अध्ययन मात्र गर्नेछ भने बक्राहा नदीको जलाधार र बहाव क्षेत्रको अवस्था अध्ययन गरेर दिगो व्यवस्थापनका लागि निर्माणको काम पनि गर्नेछ । उनले भने, ‘नदीको मुहान र बहाव क्षेत्रलाई दिगो रूपमा व्यवस्थापन नगरेसम्म बाढी समस्या पूर्ण नियन्त्रण हुन सक्दैन ।’

 

आयोजनाका अनुसार चालू वर्षमा कोसी नदीका लागि २ करोड २५ लाख र बक्राहा नदीका लागि ८ करोड २ लाख रुपैयाँ मात्र निकासा भएको छ । उक्त बजेट दिगो व्यवस्थापनका लागि पर्याप्त नभए पनि पहिले विज्ञ इन्जिनियरहरूले तयार गरेको डिपिआरलाई आधार मानेर फिल्डको विस्तृत अध्ययन गर्ने र त्यसपछि कार्यक्रम तय गरी थप बजेट माग गर्ने तिवारीले बताए ।


बक्राहाबाट ३० हजार घरपरिवार जोखिममा

इलाम र पाँचथरको सिमाना हुँदै मोरङको उत्तरी क्षेत्रबाट बग्ने बक्राहाको नेपाल–भारत सिमानासम्मको ५१ किलोमिटर क्षेत्रमा अझै दिगो तटबन्ध निर्माण हुन सकेको छैन । उत्तरी क्षेत्रमा तटबन्ध नहुँदा हरेक वर्ष बक्राहाको बाढी गाउँ पसेर जनधनको क्षति हुँदै आएको छ ।

 

दक्षिणी क्षेत्रमा तत्कालीन सिँचाइमन्त्री खुमबहादुर खड्काको पालामा सञ्चालन भएको ‘एपेक’ योजनाअन्तर्गत तटबन्ध गरिए पनि त्यो भरपर्दो हुन सकेको छैन । बक्राहाको बाढीबाट मोरङको मधुमल्ला, उर्लाबारी, राजघाट, इटहरा, सिजुवा, बरडाँगा, महादेवा, झुर्किया, हसन्दह, अमरदह, गोविन्दपुर, डायनियाँ क्षेत्रका ३० हजारभन्दा बढी घरपरिवार प्रत्यक्ष जोखिमा छन् ।

 

८ साउन ०७३ मा बक्राहाको बाढीले पथरी शनिश्चरे नगरपालिका ५ जयनगरमा तटबन्ध भत्काउँदा आठ सय हेक्टर धानबाली, तीन हजार हेक्टर खेतीयोग्य जमिन र करिब तीन करोड रुपैयाँबराबरको धान र ५० लाख रुपैयाँबराबरको माछा नष्ट गरेको थियो । एक हजार घरपरिवार विस्थापित बनेका थिए ।

 

बाढीले बाटो, कल्भर्टलगायत करोडौँको भौतिक संरचना नष्ट गरेको थियो । १५ असार ०७२ र ६ असार ०७३ मा बक्राहाको बाढीले विस्थापित भएका मिक्लाजुंग गाउँपालिका मधुमल्लाका विस्थापित ६० घरपरिवार अझै पुनस्र्थापित हुन सकेका छैनन् । – नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्