मायालु डाँडामा हरियाली पार्क



म्याग्दी : म्याग्दीको पर्यटकीय स्थल मायालु डाँडा (लभ्ली हिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । सहरी वन प्रवर्द्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराएको ३० लाख रुपैयाँ बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो । 

हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

त्यसमध्ये बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपल डाँडा सामुदायिक वन उपभोक्ता समूह र पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । लभ्ली हिल पिपल डाँडा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्दछ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित मायालु डाँडा (लभ्ली हिल) मा निर्माण भइरहेको हरियाली पार्कका लागि यस वर्ष १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले बताए ।

बदलिँदो वातावरणसँगै सहरी कोलाहलबाट मुक्त हुनका लागि स्वच्छ हावा लिँदै हरियाली दृश्यावलोकन गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।

सहर तथा बजार क्षेत्र वरिपरि रहेका खाली एवं पाखो जग्गा जमिनलाई प्रयोग गरेर हरियाली क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम आएको सहायक वन अधिकृत बल्छौडीले जानकारी दिए । 

पर्यटकीय क्षेत्र लभ्लीहिलमा हरियाली पार्क निर्माणको काम तीव्र गतिमा अगाडि बढाएको छ । हालसम्म लभ्लीहिल क्षेत्रमा हरियाली पार्क निर्माण गर्ने काम ५० प्रतिशत सम्पन्न भैसकेको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

हरियाली पार्क निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको लभ्ली हिलको विकास र विस्तार एवं थप प्रचारप्रसारका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्