काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा ढुंगा प्रहार हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन् ।
मंगलबार दिउँसो कांग्रेसले आयोजना गरेको सभामा ढुंगा प्रहार भएको थियो । नेकपा ओली समूहका स्थानीय कार्यकर्ता मुकेश पालको नेतृत्वमा आएको टोलीले ढुंगा प्रहार गरेको कांग्रेसको आरोप छ ।
साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार ढुंगा प्रहारबाट साउदको खुट्टामा चोट लागेको छ उक्त घटनामा ढुंगा लागेर कांग्रेस कार्यकर्ता जयराज जोशीसहित अर्का एक जना पनि घाइते छन् ।
उनीहरुले पाटन नगपालिकाका मेयरले चढ्ने गाडीसहितमा पनि तोडफोड गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य डिला संग्रौला र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर पनि सहभागी थिए । ओली समूहका कार्यकर्ताहरुको ढुंगामुढापछि केही समय काँग्रेसको आमसभा बिथोलिएको थियो । जोशीको अनुसार उनीहरुको अवरोधपछि प्रहरी पुगेपछि कांग्रेसले पुनः कार्यक्रम गरेको थियो । कार्यक्रमा नेकपासहितबाट एक सय कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।