सर्वोच्च अदालतलाई दवाव दिन मिल्दैन : देउवा



पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको निणर्यबारे सर्वोच्च अदालतलाई दवाव दिन नमिल्ने स्पष्ट पारेका छन् । उनले अदालतलाई यसो र उसो गर भन्न नमिल्ने र नपाइने बताए ।
पोखरामा विहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनमा बोल्दै देउवाले भने, ‘हामीले अदालतको निर्णय मान्ने हो ।’ सर्वाेच्च अदालतले चुनावमा जाउ भनेमा चुनावमा जाने र नजाउ भने नजाने उनले बताए । ‘हामीले अदालतको निर्णयलाई मान्नैपर्छ,’ उनले भने ।
दिनहुँ सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने उनले बताए । नेकपाका दुवै समुहले दिनहुँजसो भेला र प्रदर्शन गरिरहेको अवस्थामा दुवैतिर कार्यकर्ता देखिएको बताउँदै देउवाले भने, ‘नेकपाका दुवै गुटमा उत्तिकै मान्छे छन् । हामी भने अदालतलाई दवाव दिन्नौ ।’
देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको टिप्पणी गरे । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस्