बलात्कारविरुद्व नेपाल महिला संघको शनिबार प्रदर्शन गर्ने



काठमाडौं । हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शनिबार शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ । संघकी अध्यक्ष उमा रेग्मीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी शनिबार महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् ।
देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताइन् । उनले शनिबार दिउँसा १ बजे विरोध सभा समेत हुने जानकारी दिइन् ।
संघकी अध्यक्ष रेग्मीले नेपालमा बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप लगाइन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै कडा आन्दोलनको चेतावनी दिइन् । उनले महिलाविरुद्धको हिंसा बढ्नुले आफूहरु गम्भीर भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्