प्रदेश १ मा ओली समूहद्वारा संसद् बैठक बहिष्कार



विराटनगर । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहका सांसदले प्रदेश १ प्रदेशसभा बैठक बहिष्कार गर्ने भएका छन् ।
प्रदेश सचिवालयले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने कार्यसूची सार्वजनिक गरेपछि ओली समूहका सांसदले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन् । सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी ओली समूहका सांसदले बैठकमा उपस्थित नहुने भनेर संसद सचिवालयमा जानकारी दर्ता गराउने निर्णयसमेत गरेका छन् ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर गर्ने १६ सांसदलाई यसअघि नै राईले निलम्बन गरेका छन् । सत्तापक्षले मुख्यमन्त्रीले निलम्बन गरेका सांसद सहभागी भएको बैठकमा आफूहरु सहभागी नहुने अडान लिएको छ ।
प्रजातान्त्रिक प्रक्रियालाई सत्तापक्षले अवरोध गरेको भन्दै सांसदहरुले विरोध जनाएका छन् । शनिबार मात्र नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रजातान्त्रिक प्रक्रियामाथि अवरोध भए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेपछि मुख्यमन्त्री राईले यसअघि नै प्रदेशसभा नै भंग गर्नेसम्मको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्