भारत र चीन दुवै देशले फिर्ता गरे विवादित सीमा क्षेत्रबाट सेना



काठमाडौँ : भारत र चीन दुई देशले विवादित हिमालय क्षेत्रको सीमाबाट सेना फिर्ता गरेका जनाएका छन् । भारतीय रक्षा मन्त्रालयले प्रकाशित गरेको एउटा संयुक्त विज्ञप्तिमा पान्गोङ त्सो ताल क्षेत्रबाट सैनिकहरू फिर्ता हुने कार्य शनिवार सम्पन्न भएको उल्लेख गरिएको छ ।

गत जुन महिनामा उक्त क्षेत्रमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २४ सैनिकको मृत्यु भएको थियो । दुवै पक्षले लाइन अफ एक्चूअल कन्ट्रोल भनेर चिनिने सीमाको अन्य क्षेत्रमा पनि तनाव कम गर्न काम गर्ने बताएका छन् ।

फेब्रुअरी ११ तारिखमा चीन र भारतले उक्त ताल क्षेत्रबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए । शनिवार दुवै पक्षका कमान्डरहरूले उक्त कार्य कसरी भइरहेको छ भन्ने हेर्न भेटवार्ता गरेका थिए । आइतवार जारी वक्तव्यमा “अग्रपङ्क्तिमा रहेका सैनिकहरूलाई फिर्ता गर्नु एउटा महत्त्वपूर्ण कदम भएको“ जनाइएको छ ।

त्यस्तै यो “लाइन अफ एक्चूअल कन्ट्रोलको पश्चिमी क्षेत्रमा बाँकी रहेका समस्याहरू समाधानका लागि पनि राम्रो आधार बन्न सक्ने“ वक्तव्यमा उल्लेख छ । यो चरणमा प्रवेश गर्नका लागि कमान्डरहरूले नौ चरणका वार्ताहरू गरेका थिए ।

चीन र भारतबीच दशकौँदेखि सीमा विवाद रहँदै आएको छ र त्यसैका कारण सन् १९६२ मा दुई देशबीच युद्ध पनि भएको थियो । –बीबीसी

प्रतिक्रिया दिनुहोस्