प्रचण्ड-नेपाल समूहको ६८ जिल्लामा नेतृत्व चयन



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। उक्त पक्षले सोमबार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्। प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्। पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।

काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन्। गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्