मुख्य ग्रामीण सडकका खोलामा पुल निर्माण



पर्वत : मुख्य ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने र वर्षात्मा बन्द रहने ग्रामीण सडकको समस्या रहिआएको छ । ग्रामीण सडक वर्षात्का करीब तीनसम्म स्थानीय नदी तथा खोलामा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो ।

चालू वर्ष मात्रै पर्वतका करीब आधा दर्जन मुख्य खोला नदीमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केही खोलामा निर्माणाधीन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पूर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुस्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आवतजावत गर्ने सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको छ ।

गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पु¥याउने लक्ष्यकासाथ गत वर्षदेखि शुरुआत भएका सबैजसो पक्की पुल आगामी २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केही पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फलेबासको अर्चले–भङ्गरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष नै कुस्मा–२ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ ।

गत महिना कुस्मा नगरपालिका–३ अम्बोटखोला र मोदी गाउँपालिका–६ तिलाहारस्थित रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुस्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसँग जोड्छन् । मोदी गाउँपालिका–१ तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ जोड्ने भुरुङ्दी खोला पुल यसै वर्षभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा निर्माण भइरहेको छ । कास्कीको नयाँ पुल हुँदै म्याग्दीको घोडेपानीसम्म पुग्ने सडकमा भुरुङ्दी खोलाको पुल निर्माण भएपछि देशी विदेशी पर्यटकको यात्रामा सहज हुनेछ ।

पूर्वाधार कार्यालयले चालू वर्षमा सकिने गरी पैँयु गाउँपालिका–७ मा शेरा खोला, पैँयु–४ मा गेडी खोला, मर्दी खोला र शिब्दी खोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालू वर्षमा नै सक्नेगरी तीव्ररुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाँघीसकेको छ ।

कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार भुरुङ्दी खोला पुलको काम विगतदेखि नै ढिलाइ भए पनि यस वर्ष सक्नेगरी ताकेता गरिएको छ । शेरा खोला, गेडी खोला, मर्दी खोला र शिव्दी खोलाको काम तीव्र गतिमा अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्