भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती



झापा : दमक नगरपालिकाले आफ्नो घरजग्गा नभएका भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती निर्माण गरी नयाँ घरमा बसोबास गराउन थालेको छ । गतवर्ष नगरका भूमिहीनका लागि समान प्रकृतिका २३ घर परिवारलाई दिन थालिएको नगरपालिकाले जनाएको छ ।

दमक–१ मा नमूना एकीकृत बस्तीका रूपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा ती परिवारलाई नमूना बस्ती निर्माण गरिएको नगर प्रमुख रोमथान ओलीले बताए । नगरपालिकाको स्वामित्वको जमीन उपयोगसँगै अतिक्रमण हटाई क्रमिकरूपमा यस प्रकारका बस्ती निर्माण गर्ने योजनाअनुसार नमूनाबस्ती निर्माण गरिएको हो । नगर प्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमीन नभएको परिवार छनोट गरिएको हो ।

यस्तै, दमक– ७ को सुनचाँदीलाइनमा रहेको नगरपालिकाको जमीनमा बसोबास गरेका परिवारलाई पहिलो हकदार बनाइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार तीन नमूना बस्तीको घरको संरचना आर्कषकसँगै व्यवस्थित रुपले तयार गरिएको छ ।

एक तले पक्की ती घरको छानोमा निलो रङको जस्तापाता लगाइएको छ । प्रत्येक घरमा विद्युत् र खानेपानी र सानो फूलबारीसमेत रहने प्रबन्ध छ । प्रत्येक घरमा आधुनिक तरिकाले बनाइएका दुई कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्बल हालेर बनाइएको शौचालय—स्नान कक्ष जस्तै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । कूल रु तीन करोड ७० लाखमा बस्ती निर्माण गरिएको हो । यसमा तीनै तहका सरकारको लागत सहभागिता छ ।

बस्ती निर्माणमा सङ्घीय सरकारको स्थानीयपूर्वाधार विकास साझेदारी कार्यक्रमको रु एक करोड ४० लाख, प्रदेश सरकारको रु एक करोड ३० लाख र दमक नगरपालिकाको रु एक करोड खर्च भएको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिए । लामो समयदेखि नगरपालिकाको जग्गामा बस्दै आएका घर पाएपछि मनमाया भुजेल हर्षित हुनुहुन्छ । अहिलेसम्म घरवारविहीन भएका भुजेल परिवारले अहिले आफ्नै घरमा बस्न पाएपछि खुशी भएको छ ।

यसवर्ष फेरि सोही नमूना बस्तीनजिकै वडा नं ७ मा सोही प्रकृतिका दोस्रो नमूनाबस्तीमा १५ घर बनाइएको र ती पनि यस्तै विपन्न नागरिकलाई बसाउने स्थानीय सरकारको योजना छ । ती घर पनि यसैवर्ष नगरका भूमिहीनलाई हस्तान्तरण गरिने योजना रहेको वडाध्यक्ष भीम पौडेलले बताए । नमूनाबस्ती घर सङ्घीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । साझेदारी कार्याक्रम अन्तर्गत १५ घर बनाउन कूल रु एक करोड ९२ लाख विनियोजन गरिएको थियो जस अनुसार प्रतिघर रु १२ लाख ८६ हजारको लागत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्