नेपाल सुपर लिग वैशाखमा



काठमाडौँ वैशाखको दोस्रो साता नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाली फुटबलमा पहिलो पल्ट फ्रेन्चाइज लिग हुन लागेको हो । प्रतियोगिता वैशाख ११ देखि २५ सम्म हुनेछ ।
प्रतियोगिताको पहिलो संस्करण दशरथ रंगशालमा हुनेछ र त्यसमा विभिन्न प्रदेशको सहरका फ्रेन्चाइज टिमले भाग लिनेछन् । प्रतियोगिताबारे सहभागी हुने टिम र त्यसका मालिकबारे अहिले गृहकार्य भइरहेको छ । खेलाडीको चयन भने लिलामीको माध्यमबाट गरिनेछ । त्यसमा नेपालका राष्ट्रिय, घरेलु र अन्य खेलाडीको समूह बनाएर खेलाडी लिलामी हुनेछ ।
यस्तै लिलामीमा विदेशी खेलाडीको अलगै समूहमा हुनेछ । एनएसआईएका अनुसार प्रतियोगितामा छ देखि आठ टिमसम्म हुन सक्नेछ । यस्तै प्रत्येक टिममा २० खेलाडीसम्म हुन सक्नेछ । प्रतियोगितालाई लिएर सोमबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघको अध्यक्ष कर्माछिरिङ शेर्पाले फ्रेन्चाइज लिगको आयोजनाले नेपाली फुटबल अझ बढी व्यवसायिक हुने दाबी गरे ।
यस्तै आयोजक एनएसआईएमका सीईओ सुदीप शर्माले प्रतियोगिताको मुख्य उद्देश्य फुटबलमा निजी क्षेत्रलाई प्रवेश गराएर यसलाई व्यवसायिक बनाउने रहेको बताए । उनका अनुसार प्रतियोगितालाई भविष्यमा अझ व्यवस्थित र व्यवसायिक बनाइनेछ । प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्ष भने एन्फाले हेर्नेछ ।

प्रतिक्रिया दिनुहोस्