निरङ्कुशतन्त्र जारी राख्न ओलीले असंवैधानिक कदम उठाए : उपेन्द्र यादव



जनकपुरधाम । जसपा नेपालका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थिरता कायम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । सोमबार जनकपुर धाममा आयोजित कार्यक्रममा यादवले प्रधानमन्त्री ओलीद्वारा राजनीतिक अस्थिरता बढाएर निरङ्कुशतन्त्रलाई जारी राख्नकै लागि असंवैधानिक कदम उठाएको आरोप लगाए ।
यादवले प्रधानमन्त्री ओली संघीय प्रणाली समाप्त पार्ने खेलमा लागेको बताए । उनले भने, ‘संघीय प्रणाली जसमा पृथकतावादीको स्थान हुँदैन, जसमा अधिक व्यक्तिलाई अवसर दिइन्छ, त्यस्तो प्रणाली समाप्त पार्ने ध्येय प्रधानमन्त्री ओलीको छ ।’
अध्यक्ष यादवले प्रधानमन्त्री ओली निरङ्कुशतन्त्रलाई निरन्तर तन्काइराख्ने पक्षमा रहेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन्, अब निर्वाचन नगराएर देशमा राजनीतिक अस्थिरता बढाउने र निरङ्कुश प्रणाली जारी राख्ने उनको योजना छ ।’
उनले भने, ‘हामी जुन संविधानको विरोध गर्दै आईरहेका थियौँ, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सोही संविधानको रक्षाका लागि आन्दोलन गर्नु परिरहेको छ ।’ संविधानका कयौं धारामाथि आफूहरुको असहमति रहे पनि यसै संविधानमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, जनतामा सार्वभौम सत्ता, मौलिक हकजस्ता कुरा उल्लेख रहेकोले यसको संरक्षण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भनेर थाक्दैन थिए, आज उनी सो संविधान नै समाप्त पार्न उद्यत छन्, हाम्रो संविधानमा असहमति थियो तर सो संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि आन्दोलन गर्नु परिरहेको छ ।’
अध्यक्ष यादवले हाम्रो आन्दोलन अझै जारी रहेको र सम्पूर्ण रुपमा विभेद अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्