फागुन भित्र आफ्नै दल बनाउने स्वास्थ्यमन्त्री त्रिपाठीको घोषणा



परासीः स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँको निवासमा पत्रकारहरुसँग सोमबार कुरा गर्दै मन्त्री त्रिपाठीले फागुनभित्र दल गठन भइसक्ने बताए । मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नयाँ पार्टीको नाम स्वतन्त्र राजनीतिक समूहलाई नै रुपान्तरण गरेर गठन गर्ने उनको भनाइ छ । आफ्नो पार्टीमा विघटित प्रतिनिधिसभाका केही सांसद् र तत्कालीन तमलोपाका अधिकांश नेताहरु आउने तरखरमा रहेको उनले दाबी गरे ।
‘हामीले गठन गर्ने दलमा विघटित प्रतिनिधिसभाका केही सदस्यहरु आउने छन् । उनीहरु संसद् पुनःस्थापना सम्बन्धीको फैसला कुरेर बसेका छन् । अर्को समूह भनेको तत्कालीन तमलोपाका नेताहरु हुन् । तमलोपाका ८० प्रतिशत भन्दा बढी नेताहरु आउने तयारीमा छन् । अन्य राजनीतिक दलका नेताहरुसँग पनि कुराकानी भइरहेको छ’ मन्त्री त्रिपाठीले भने ।
तमलोपा ब्युँताउन लागेको भन्ने टिप्पणीबारे उनले दुष्प्रचार मात्र भएको प्रतिक्रिया दिए । नयाँ दलको गठन गर्नुपर्ने आवस्यकता बारे उनले वर्गीय आधारलाई अन्य दलले समेट्न नसकेकाले त्यसैको प्रतिनिधित्वलाई समेट्ने बताए ।
‘हाम्रो वर्गीय आधार भनेको किसान र साना व्यवसायी हुन् । जुन अहिलेका राजनीतिक दलको प्रतिनिधित्वमा परेका छैनन् । अर्को राजनीतिक आधार भनेको संघीय लोकतान्त्रीक गणतन्त्रको प्रतिबद्धतासहित विद्यमान विभेदको अन्तयसहित मूलरुपमा राजकीय सत्ता र सार्वभौम सत्ता जनतामा निहित हुने मान्यताका साथ दल गठन हुन्छ’ उनले भने ।
बैशाखमा चुनाव हुने नहुने भन्नेबारे सर्वोच्चको फैसला र निर्वाचन आयोगमा नेकपाको आधिकारिकता निष्कर्षपछि टुंगो लाग्ने पनि मन्त्री त्रिपाठीको भनाइ थियो ।
चुनावअघि दल दर्ता नभए फेरि सूर्य चिन्ह वा नेकपाको कुनै समूहको चिन्ह लिएर चुनाव लड्नु हुन्छ भन्ने पत्रकारको जवाफमा मन्त्री त्रिपाठीले भने, ‘सूर्य त आफैँ फ्रिज हुन्छ कि कता जान्छ भन्नेमा नेकपाकै नेताहरुले बुझेका छैनन् । तत्कालीन अवस्थामा आफ्नै पार्टीबाट धोखा खाएर वाध्यतावश तत्कालीन एमालेसँग २ बुँदे सहमति गरेर चुनावी तालमेल गरेका हौँ । अब आफ्नै दल गठन गरेर नयाँ मूल्य मान्यताका साथ चुनाव लड्छौँ,’ मन्त्री त्रिपाठीले भने ।

प्रतिक्रिया दिनुहोस्