विप्लवको प्रतिवन्ध फुकुवा निर्णय लिन मन्त्रिपरिषद बैठक



काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुरक्षा परिषद र मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

आज सुरक्षा परिषदको बैठक बसेपछि मन्त्रिपरिषदको बैठक बस्नेछ । पछिल्लो समय विकसित घटनाक्रमका कारण यी दुवै बैठकलाई महत्वका साथ हेरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुवै बैठकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बारेमा छलफल हुने जानकारी दिए । पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताका प्रयासहरू भइरहेका समाचार आएका छन् । त्यसक्रममा विप्लवसमूहले पनि केही सर्त राख्दै आफू वार्ताका लागि तयार रहेको जनाइसकेको छ ।

स्रोतका अनुसार आज बस्ने बैठकबाट विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना छ । आजै साँझ प्रधानमन्त्री ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने तयारी गरेको पनि स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्