जलेश्वर–जनकपुर सडक अवरुद्ध



महोत्तरी । महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले मंगलबार यातायात अवरुद्ध गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर सडकमा गाडी ठप्प पारेका हुन् ।
सोमबार राति घरमै सुतेका सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीतादेवी बिहान नभेटिएको परिवारले जनाएको छ । राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको झाका नाति सुजितकुमारले दाबी गरे । घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको उनको भनाइ छ ।
दुवै जना सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । ‘दुवै जनाको खोजी भइरहेको छ,’ उनले भने । बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
झाको घरमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए । स्थानीयका अनुसार झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति हुन् । उक्त मुद्दा अदालतमा विचाराधीन छ । जग्गावालासँग झाको विवादसमेत भएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्