भागरथीको परिवारलाई ५ लाख रुपैयाँ राहत



बैतडी । दोगडाकेदार गाउँपालिका ७, चडेपानीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत दिन गाउँ कार्यपालिका बैठकले निर्णय गरिसकेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन गाउँपालिकाले अनुरोध गरेको छ ।
गत माघ २१ गते भागरथीको स्थानीय लबलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्ति पत्ता लगाउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।
घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारवाही माग गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई ५ लाख राहत प्रदान गर्ने निर्णय लिएको छ। साथै, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट पनि २ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो। यसका साथै नेपाली कांग्रेस बाजुराले पनि ३० हजार रुपैयाँ नगद सहयोग गरेको थियो ।
यसैबीच घटनाका संलग्न रहेको आरोपमा प्रहरीले दोगडाकेदार गाउँपालिका ७ चडेपानीकै दिनेश भट्टलाई पक्राउ गरिसकेको छ । गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि जिल्ला अदालत बैतडीबाट शुक्रबारसम्मका लागि म्याद थपेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।
दिनेशले यसअघि आफैँले बलात्कारपछि हत्या गरेको प्रहरी र सरकारी वकिल समक्ष स्वीकार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्