ओलीको स्वेच्छाचारिता अन्त्य गर्न चुनाव आवश्यक : कमल थापा



हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।
संसद विघटन सम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनावमा जानु आवश्यक रहेको बताए ।
प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाव आवश्यक भएको भन्दै थापाले भने, ‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट थिएन, कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्ने छ ।’ गृहजिल्ला मकवानपुरमा टोल–टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले मंगलबार हेटौंडा–१३ को पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
थापाले विगत १४ वर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए । उनले स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए ।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो ।
विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौँ, जुन सहमतिको आधारित होस्,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्