गैरकम्युनिष्ट सरकारका लागि प्रचण्ड–माधवहरु भिख माग्दै छन् : मुख्यमन्त्री पोखरेल



काठमाडौँ । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको आरोप लगाएका छन् ।
बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख माग्दै हिँडेको बताएका हुन् । उनले भने, ‘उहाँहरुले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्ने कुरा गर्नुहुन्छ । उहाँहरुले जितेको परिणाम के हो त भन्दाखेरी कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ ।’
नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताको बीचमा यसै विषयलाई लिएर जाने बताए । उनले जुन उद्देश्यका साथ प्रतिनिधिसभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गरे । प्रतिनिधिसभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षड्यन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उनले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताए ।
नेता पोखरेलले अब संसद्मा मान्छे तान्ने खेल सुरु हुने र त्यतिबेला केपी ओलीको संसद् विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने बताए । आगामी चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइसक्ने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्