नेकपा पार्टी नाम विवादको मुद्दामा सुनुवाइ सम्पन्न



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ। नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा बिहीबार सुनुवाइ सम्पन्न भएको छ । अब सर्वाेच्च त्यसको फैसलाको तयारीमा जुटेको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ सम्पन्न भएको हो। सत्तारूढ नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल र केपी शर्मा ओली गरी दुई समूहमा विभाजन भइरहेका बेला यो मुद्दामा सुनुवाइ भएको हो। सुनुवाइ सकिएपछि इजलासले निर्णय सुनाउने अर्काे मिति तोकेको छ । यसअघिका केही पेशी लगातार चढे पनि स्थगित हुँदै आएको थियो। मुद्दामा फैसलाका लागि अङ्ग पुगेको र सुनुवाइ हुन नसकेपछि इजलासले बिहीबारका लागि यसअघि नै समय तोकेको थियो।

२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले मुद्दा दायर गरेका थिए। तीन वर्षदेखि विचाराधीन मुद्दा अन्तिम फैसलाका लागि बिहीबार पेसी चढेको थियो। सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ।

प्रतिक्रिया दिनुहोस्