केपी ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा : राजेन्द्र श्रेष्ठ



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ । कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ ।‘ उनले केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुने दाबी गर्दै नयाँ राजनीतिक पार्टी गठन गर्न सुझाव दिए ।
श्रेष्ठले इज्जत जोगाउन ओलीले नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुने उनको भनाइ छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरे । राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनको गुनासो छ । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिएपनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन?’–श्रेष्ठको प्रश्न छ ।
नेता श्रेष्ठले अब कसरी अघि बढ्ने ? भन्ने सन्दर्भमा आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि बताए ।
नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उक्त भेटमा दाहाल–नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्