आर्थिक अनुशासनमा दलहरु असफल : पूर्वराष्ट्रपति यादव



जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिभित्र चिरा परेको लोकतन्त्र बलियो नभएसम्म मुलुकमा लोकतन्त्र कार्यान्वयन नहुने बताएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा बिहीबार आयोजना गरेको महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राजनीति दल विधि र प्रक्रियाअनुसार नचलेर चिरा परेकोले मुलुकमा समस्या आएको बताए । ‘लोकतन्त्र, संघीयता र समावेशीमा विश्वास गर्नेको जित भएको छ’, डा.यादवले भने, ‘अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको छ । मुलुकमा लागेको ग्रहणलाई अदालतले संविधानअनुसार हटाएको छ । संविधानलाई बचाउने अदालतलाई नमन गरी सम्मान गर्न चाहन्छु ।’ उनले संविधान र लोकतन्त्र रक्षाका लागि अदालतले आफ्नो धर्म निर्वाह गरेको उल्लेख गरे ।
प्रतिनिधिसभा विघटन बदरपछि ४÷५ चरणमा सरकार गठन प्रयासपछि मात्र मुलुकमा निर्वाचन हुने बताउँदै डा. यादवले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनु पर्ने बताए । संवैधानिक निकायमा राजनीतिक बाँडफाँड बन्द गरी नियुक्तिमा विज्ञलाई प्राथमिकतामा राखेपछि मात्र संवैधानिक निकाय निष्पक्ष हुने उनले बताए ।
डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासन नभएको टिप्पणी गरे । कांग्रेस, नेकपा र मधेशवादी दलसहित कुनै पनि दलमा आर्थिक अनुशासन नभएको उनले आरोप लगाए ।
पछिल्लो सय वर्षयता सैनिक शासन, साम्यवाद, लोकतन्त्रको क्रममा हुकुमी शासनमा जेल परे पनि एउटै विचारको राजनीति गर्ने गान्धीवादी नेता महेन्द्रनारायण निधिको कार्यकर्ता र डाक्टर भएर काम गर्ने सम्झान सुनाउँदै राजनीतिका नयाँ पुस्ताले निधिको जिवनी अवलम्बन गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्