कांग्रेस सभापति देउवासँग चीन र भारतका राजदूतले गरे छुट्टाछुट्टै भेट



काठमाडौँ : संसद् पुनर्स्थापनासँगै नयाँ सरकार गठनको कुरा चलिरहेका बेला चीन र भारतका राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर छुट्टाछुट्टै भेटेका हुन् ।

उनीहरूले बिहीबार बेलुका छुट्टाछुट्टै समयमा भेट गरेका बताइएको छ । बिहीबार पार्टीको पदाधिकारी बैठक सकिएपछि राजदूतद्वय यान्छी र क्वात्राले सभापति देउवासँग भेट गरेका थिए । नयाँ सरकार गठनको कसरत चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनीहरूले नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको स्रोतको भनाइ छ । सर्वाेच्च अदालतले पुनर्स्थापना गरेपछि अहिले कांग्रेस सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ ।

बुधबार मात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उनलाई भेटेका थिए । यस क्रममा चीन र भारतका राजदूत पनि सक्रिय भएका हुन् । संसद पुनर्स्थापनापछि नयाँ सरकार गठनमा कांग्रेस निर्णायक छ ।

प्रतिक्रिया दिनुहोस्