सीमा विवादबारे भारत र चीनका विदेशमन्त्रीबीच ७५ मिनेट फोन वार्ता



नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
पछिल्लो केही वर्षदेखि नै सीमा विवादमा फसेका दुई मुलुकका प्रतिनिधिहरुको वार्ता सीमा विवाद समाधानका लागि लक्षित थियो । भारतीय अधिकारीहरुका अनुसार दुबै पक्ष सीमा क्षेत्रमा उत्पन्न तनाब कम गर्न सहमत छन् ।
साथै विवादास्पक्ष सीमा क्षेत्रबाट सेना फिर्ता गर्न उनीहरु तयार देखिएका छन् । गत साता मात्रै सीमा क्षेत्रमा दुबै देशका सेनाहरुबीच धक्कामुक्की भएको भिडियो समेत सार्वजनिक भएको थियो । यसअघि गत वर्ष पनि गलवान क्षेत्रमा दुबै सेनाहरुबीच भीडन्त हुँदा २२ जना भारतीय सैनिक मारिएका थिए ।
भारतीय मिडियाका अनुसार उनीहरुबीच ७५ मिनेटसम्म फोन वार्ता भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको तयारी भइरहँदा दुई देशका उच्च अधिकारीहरुबीच वार्ता सम्भव भएको हो । यसअघि सीमा क्षेत्रमा रहेका सैन्य कमाण्डरबीच वार्ता प्रयास भए पनि सफल हुन सकिरहेका थिएनन् ।
भारतको सेनाले यसअघि कश्मीरस्थित विवादित सीमा क्षेत्रमा पनि पाकिस्तानी सेनासँग सिमानामा हुने आक्रमण रोक्न सम्झौता गरेको थियो । पछिल्लो केही वर्षदेखि नै भारत र चीनका सेनाहरु सिमानामा भीडन्त गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्