इटहरीमा ट्रकको ठक्करबाट कक साइकलयात्रीको मृत्यु



विराटनगर : सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा परेर शुक्रबार राति एक जनाको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका मोरङको उर्लाबारी नगरपालिका–१ का ४१ वर्षीय मनोज खनालको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा ज्यान गएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार कोसी लोकमार्गमा उत्तरतर्फ जाँदै गरेको बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले इटहरी उपमहानगरपालिका– १२ स्थित खनारमा दुर्घटना गराएको हो।

साइकलमा उत्तरतर्फ नै जाँदै गर्दा खनाललाई ट्रकले साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति साढे ८ बजेतिर मृत्यु भएको एसपी शर्माले जानकारी दिए ।

उनका अनुसार ट्रक र चालक भारतीय नागरिक भोगेन्द्र दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्