नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट शर्माको निधन



राजविराज । नेपालको पहिलो चार्टड एकाउटेन्ट (सिए) तथा पूर्व पर्यटनमन्त्री कुबेरप्रसाद शर्माको ८१ वर्षको उमेरमा निधन भएको छ ।
उपचारको क्रममा रहेका शर्माको हृदयघात भई काठमाडौंमा शुक्रबार निधन भएको हो ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माको पुख्र्यौली घर सप्तरीको राजगढ गाउँपालिकास्थित नर्घो टोल हो । २००७ सालदेखि प्रजातन्त्रिक आन्दोलनमा सहभागी उनी २०४६–०४७ सालको जनआन्दोलनमा सप्तरीमा सक्रिय थिए । सप्तरी जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट विजयी प्रतिनिधिसभा सदस्य शर्माले २०४८ सालमा १३ हजार ९३१ मत प्राप्त गरी निर्वाचित भएको थिए ।
बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग सामिप्यमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समयसम्म योगदान पु¥याएका शर्मा समाजवादी अवधारणा राख्थे । भ्रष्टाचारको विरुद्धमा जेहाद छाड्ने शर्मा २०५३ सालपछि कांगे्रस पार्टीबाट अलग भई हरियाली नेपाल पार्टीको संस्थापक सभापति बने ।
तत्कालीन पर्यटनमन्त्री कुबेरप्रसाद शर्माले तत्कालीन लाउडा काण्ड हुँदाको बखत नेपाली कांग्रेस भित्र नातावाद र कृपावाद हावी भएको हेर्न र आत्मा स्वाभिमानले सहन गर्न नसकेर कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका थिए । बिद्रोहस्वरूप कांग्रेस पार्टी परित्याग पश्चात भ्रस्टाचार विरोधी पार्टीको रुपमा हरियाली नेपाल पार्टी गठन गरेर आत्म स्वाभिमानको आत्मरक्षा गर्दै देश र समाजको निम्ति जनजागरण अभियानलाई तेज बनाएका शर्मालाई प्रष्ट विचार राख्ने, इमान्दार र योग्य व्यक्तित्वको रुपमा लिइन्छ ।
राजविराज नगरपालिका–३ मा समेत घर रहेका उनी बानेश्वर हाइट, काठमाडौंमा बस्दै आएका थिए । सन् १९३७ जुन १९ मा सप्तरीको नर्घोमा जन्मेका शर्माका श्रीमती र ३ छोरी छन् ।
बि.कम. र एफ. सि.ए. गरेका शर्मा नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थाको संस्थापक हुन् । सत्याग्रह र जनआन्दोलनमा प्रहरी हिरासतमा परेका शर्मा निर्मल साप्ताहिकमा २०२७ देखि २०२९ सम्म, जनआंकाक्षा साप्ताहिकमा २०३६ सालमा र राजधानी साप्ताहिकमा २०४२ सालमा प्रकाशक र सम्पादनमा सहयोगी थिए ।
रोटरी क्लब काठमाडौंका अध्यक्षसमेत बनेका शर्मा रत्नराज्य मावि बानेश्वरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत बने । शैक्षिक अभियन्ता रहेका उनको राजनीति सम्बन्धी केही पुस्तक प्रकाशित छन् । उनको शनिवार अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्