पार्टी एकता भएको एक महिनामै ओली बेइमान रहेछन् भन्ने बुझेको थिएँ : प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराज ठान्ने गरेको बताएका छन् ।
पार्टी निकट शिक्षकहरुको भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले ओलीले आफैंलाई राज्य ठान्ने गरेको बताए । ‘आलोचना सुन्नै र सहनै नसक्ने, बैठक बस्न पटक्कै मन नपराउने, शक्तिमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति उहाँमा छ, प्रचण्डले भने, महाराजधिराजहरु पनि यस्तै गर्थे, उहाँ अब हाम्रो वर्गको रहनुभएन ।’ ‘सहमति लागु नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागु नगर्ने, उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै’, प्रचण्डले भने ।
हिजो विचारमा सहमत हुँदा पार्टी एकता भएको प्रसङ्ग उठाउँदै उनले फेरि पनि विचार मिल्दा एक हुनसक्ने बताए । ‘सहमतिको सँग हुन्छ कोसँग हुँदैन भन्ने व्यक्ति मन पर्छ कि पर्दैन भन्ने होइन विचार र पद्धतिको कुरा हो ।
उनले पार्टी एकता भएको एक महिनामै केपी शर्मा ओली बेइमान रहेछन् भन्ने कुरा आफूले बुझेको पनि बताए । उनले केपी ओलीले अहिले एमाले खोजिरहेको बताउँदै वास्तविक एमाले आफूहरुतिरै रहेको दाबी गरे ।
प्रचण्डसँग मिलेर माधव नेपाल समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्ने ओलीको योजना आफूले पार्टी एकता भएको एक महिना पनि नहुँदै थाहा पाएको उनको भनाइ छ ।
‘माधव समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्न सकिहालिन्छ भन्ने केपी ओलीको योजना बुझ्न मलाई एक महिना पनि लागेन’, प्रचण्डले भने, ‘जेठमा एकता भयो असार नसकिँदै कस्तो बेइमान मानिसको फेला परिएछ भन्ने कुरा मैले बुझिसकेको थिएँ ।’
उनले तत्कालै विरोध गरिहाले एकता भएको एक महिनामै यस्तो कुरा गरे जनताले के भन्लान् भन्ने लागेर सहेर बसेको पनि बताए ।
पार्टीको अध्यक्ष पालो पालो हुने सहमतिलाई ओलीले एक दिन पनि नमानेको उनले बताए । सहमति भनेको तोड्नकै लागि हो भन्ने नीति ओलीले अपनाउने गरेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्