ओलीलाई एमालेको कुनै माया छैन : माधव नेपाल



काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित नेकपा दाहाल–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताएका छन् ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहनु भएको तर आफुले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस् भनेको नेता नेपालले बताए । उनले भने,‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भंग गरिदिनुभयो । किन भंग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तिमा कोहीपनि छैन भनेर । अब अहिले पनि उहाँ फेरी कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब उहाँ गर्नुहोस मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किदैन कोसिस गर्नुहोस ।’
अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभको पनि स्पष्ट पारे । बरु ओली प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले भने,‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन । त्यसो भएकोले तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’
अहिले प्रतिनिधि सभा पुनःस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए । उनले भने, ‘एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ । एउटा लडाई जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाई गर्नुछ ।’
केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताएका छन् । ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाए । उनले भने, ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’
बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको समेत बताए । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताए । उनले भने,‘केपी ओली तरिकाले जाँदा पार्टीभित्र उहाँले छलफल बहस बन्द गर्नुभयो । बैठक त्यहिं छ बालुवाटारमा, बालुवाटार बाहिर कहिं नजाने मान्छे अहिले हेर्नुहोस त फुर्ति कहिले कहाँ पुग्या छ कहिले कहाँ पुग्या छ । बैठक भनेपछि धुम्बाराहीमा नआउने मान्छे अहिले त कुद्या छ कुद्या छ । भनेपछि पार्टीलाई कति मर्यादित ठानेको । आफ्नो पुरै पछिपछि लाग्नुपर्छ भन्ने प्रवृतिको कति पक्षपोशण भएको कुरालाई पुष्टि गर्दैन त्यसले । त्यसैगरी त्यहिं निवास छ, बेडरुम छ, त्यहिं बैठक बसेको छ बैठकमै नआउने । बैठकमा ल्याउनका लागि प्रचण्डले बैठक छोडेर जाने फेरी, कहिलेकाहिं हामीलाई पनि सँगै जाउँन भन्ने । एउटाको शक्तिले पुगेन र दुईवटाले सकिन्छ कि भनेर । यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौं ।’
अहिले केपी ओलीलाई बिदा गरे जस्तै ओली प्रवृत्तिलाई पनि सबैले त्याग्नुपर्ने बताए । अहिले सबै क्षेत्रबाट नेताहरुलाई ओली प्रवृत्ति त्यागेर अगाडि बढ्न सुझाव आएको पनि अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्