अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती



बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् ।
आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन–नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनःस्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिए । उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएको बताए ।
‘सरकार कुनै पनि हालतमा ढल्दैन । संसद्मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनौती दिन्छु,’ प्रधानमन्त्रीले भने ।
‘संसद् त पुनःस्थापना भयो तर संसदीय दलको नेता केपी ओली हो, नेकपाको अध्यक्ष हो । अब प्रधानमन्त्री केपी ओली छ । उहाँहरु मसँग राजीनामा माग्नुहुन्छ । तपाईंहरुले जब संसद पुनःस्थापना गरेर ल्याउनुभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न,’ उनले भने,‘अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् । हटाएर देखाउनुस्, हटाउनुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाई ल्याएर आइन्छ ।’ उनले अहिले आफ्ना बारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको समेत बताए । लामो सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र तलमाथि हुन नदिने ओलीको दाबी छ ।
जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको भनाइ थियो । उनले वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको बताए । उनले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि बताए ।
निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको बताए । उनले भने, ‘अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि ! झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।’ प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने पनि बताए । ‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्