न्यायधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ



दाङ । लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले दाङमा न्यायधीशकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आइतबार तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

तुलसा न्यायधीस मदनकी कान्छी श्रीमती हुन् । तुलसालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रतननाथ टोल स्थित उनकै निवासबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनको घरमा पार्किङ गरेर राखिएको स्कुटरको ‘डिक्की’मा २ ग्राम २२ मिलिग्राम ब्राउन सुगर जस्तै देखिने बस्तु फेला परेको प्रहरीले जनाएको छ । साथै योसंगै लागुऔषध जोख्ने सानो तराजु समेत फेला परेको प्रहरीले जनाएको छ ।

तुलसालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले ब्राउन सुगर जस्तै देखिने लागु औषध सहित तुलसीपुरकी तुलसा पोख्रेल पक्राउ परेको तर उनको पारिवारिक अवस्थाबारे भने आफूलाई थाहा नभएको बताए ।

उनका अनुसार तुलसाले आफ्नो स्कुटरमा लागु औषध ब्राउन सुगर राखेको प्रहरीलाई पूर्व सूचना मिलेको थियो । सोही सूचना अनुसार प्रहरी उनको घर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्