ओलीलाई पार्टीको नाम र चिह्न प्रयोग गर्ने कुनै अधिकार छैन : माधव कुमार नेपाल



काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल निकाल्न खोज्नु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीलाई सुधार्न अनेकौ प्रयास गर्दा पनि सफल हुन नसकेपछि यस्तो निश्कर्ष निकालेको बताए ।
ओलीलाई ‘फाउन्डेसन’ खोल्न सुझाव दिदैं उनले ओलीलाई नाम र चिह्न प्रयोग गर्ने कुनै अधिकार नरहेको जिकिर गरे । ओली कारबाहीमा परिसकेको र त्यसको जानकारी निर्वाचन आयोगले पाइसकेकाले उनका गतिविधि अवैध रहेको नेपालले बताएका हुन् ।
‘हामीले उनलाई (केपी) ओलीलाई हटाएका छौं । तर उनी नेकपाको अध्यक्ष भनेर भाषण गरेर नेकपाको नाम, उही चिह्न उही झन्डा प्रयोग गरेर हिँडिरहेका छन् । अरू पार्टीलाई पनि एउटै पार्टीको हो कि भन्ने भ्रममा पारेका छन् । निर्वाचन आयोगमा हामीले केपी ओली अब अध्यक्ष नरहेको जानकारी गराइसकेका छौँ । केपी ओली विधानभन्दा माथि हुन सक्छन् । कमिटीलाई हटाउने अधिकार हुन्छ । नेकपाको नाम प्रयोग गर्ने अधिकार केपी ओली र उनका नजिककालाई छैन,’नेपाललले भने ।
उनले केपी शर्माओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्न लागि परेको भन्दै ओलीको अहंकारी प्रवृत्तिकै कारण वर्तमान अवस्था आएको बताए । हिटलरले पनि लोकतन्त्रको भर्याङ चढेर अधिनायकवाद लादेको भन्दै त्यस्तो प्रवृत्ति नेपालमा रहनु नहुने बताए । ‘ओलीको दम्भीपन र अपमान गर्ने प्रवृत्ति बढ्दै गएपछि कम्युनिस्ट संस्कार पनि देखिएन’ अध्यक्ष नेपालको भनाई छ ।
उनले अहिले ओली प्रवृत्तिविरुद्धको लडाई पार्टीभित्रको समस्यामा मात्र सिमित नभई सिंगो राष्ट्रको समस्या रुपमा रहेको बताए । कार्यक्रममा पेसागत महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले संयुक्त प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपालले सूर्य चिन्ह र नेकपा नामको पार्टी प्रयोग गर्न पाउने अधिकार ओलीमा नभएको भन्दै पूर्व एमाले पनि व्युँतिन नसक्ने बताए । अध्यक्ष् नेपालले सर्वोच्चले प्रस्ट व्याख्या आएको भन्दै यसले नेपाली जनताको जित भएको बताए । ‘सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जित भयो’ अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्