सेनिटाइजर खाँदा मोरङमा दुई जनाको मृत्यु



विराटनगर । कोरोना भाइरस संक्रमण रोक्नलाई प्रयोग गरिने सेनिटाइजर सेवन गरेका कारण मोरङमा एकै दिन वृद्ध अवस्थाका दुई जनाले ज्यान गुमाउनु परेको छ ।
किटाणु नष्ट गर्नका लागि हातमा लगाइने सेनिटाइजर सेवन गर्दा मृत्यु भएकामा एक वृद्धा महिला र एक वृद्ध पुरुष रहेका छन् ।
सेनिटाइजर सेवनपछि मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन् । दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको पाइएको छ ।
कोसी अस्पतालका अनुसार सुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने अवस्थामा रहेका दुवै जनाको स्वास्थ्य पनि सामान्य नै थियो । तर केही समयमै दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएर गयो । अवस्था गम्भीर बनेपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । यस्तै स्वास्थ्य अवस्था थप जटिल बन्दा वृद्धा महिलाको आकस्मिक कक्षमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्